२०८१ चैत्र १३ गते बुधवार

गाउँपालिकाबाट उपलब्ध हुने सेवामा सबैको समान अधिकार हुनुपर्नेमा जोड



१० चैत्र,सल्यान ।
सल्यानमा स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीलाई सहभागीतामुलक तथा लैंगीक उत्तरदायी र समावेशी बजेट निर्माणका लागि अभिमुखिकरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा दलित महिला जनप्रतिनिधीहरु, श्रोत अनुमान तथा बजेट तर्जुमा समिती, अनुगमन समिति र कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको हो । स्थानीय तहले आफ्नो क्षमता अनुरूप वार्षिक योजना तर्जुमा गर्नुपर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा तथा सुविधाहरूमा सबै नगरवासीहरूको समान अधिकार रहनुपर्ने विषयमा छलफल भएको थियो ।

दलित महिला केन्द्र काठमाण्डौँले कपुरकोटमा सोमबार स्थानीय तहमा समावेशी र लैंगीक उत्तरदायी बजेट योजना तर्जुमा गोष्ठी र मंगलबार सहभागीतामुलक योजना कार्यान्वयन र अनुगमन निर्देशिका निर्माणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाबाट प्रभावकारी र उत्तरदायी तरीकाले सार्वजनिक सेवाहरू पु¥याउन तथा सामाजिक र आर्थिक विकास गतिविधिहरू सञ्चालन गर्नका लागि आफुहरुले विशेष ध्यान दिएको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले लैङ्गिक समानताको लक्ष्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्ने र यसमा सबै जनप्रतिनिधीहरुले ख्याल गर्नुपर्ने धारणा ब्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव तथा हिंसा जस्ता जघन्य अपराधलाई दण्डनीय बनाइ पीडितलाई क्षतिपूर्ति दिलाउने र शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसरद्वारा लैङ्गिक समानता कायम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा दलित महिला केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामा, दलित अधिकारकर्मी तेज सुनार लगाएतले लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी व्यवस्था तथा लैङ्गिक उत्तरदायी बजेटका मान्यताहरूकाबारेमा अभिमुखिकरण गरेका थिए । साथै स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र यसका चरणहरुका बारे पनि अभिमुखिकरण गरिएको दलित महिला केन्द्रकी अनिता विशंखले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन दलित विकास समाज सल्यानका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्