११ फागुन,दाङ- बिमा बोर्डबाट भुक्तानी नपाएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको स्वास्थ्य बिमा कार्यक्रम रोक्ने निर्णय फिर्ता लिएको छ । बिमा बोर्डबाट पाउनुपर्ने रकम अनिश्चित भएकोभन्दै सेवा रोक्ने निर्णय भएको निमित निर्देशक जनार्दन पन्थीले हस्तारक्षरित सूचनामा प्रतिष्ठानले शुक्रवार सार्वजनिक गरेको थियो । स्वास्थ्य बिमा कार्यक्रम रोक्ने निर्णयको नागरिकले व्यापक विरोध गरेपछि तत्काललाई सो निर्णय फिर्ता लिएको हो ।
प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले पुनः सूचना प्रकाशित गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । सूचनामा अस्पतालबाट उपलब्ध हुँदै आएको नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सेवा सम्बन्धमा प्रतिष्ठानको मिति २०८१ फागुन ९ गतेको निर्णयबारे विभिन्न सञ्चार माध्यम र सरोकारवालाहरूको चासो सम्बन्धमा प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण प्रतिष्ठानको स्वास्थ्य बिमा कार्यक्रम रोक्ने निर्णय फिर्ता भएको उल्लेख गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई चुस्त दुरुस्त राख्न औषधी, स्वास्थ्य जाँच र औषधीजन्य सामग्री आपूर्तिकर्ताहरूलाई लामो समयसम्म भुक्तानी दिन नसक्दा नियमित सेवा सुचारू गर्न असहज भएको सूचनामा उल्लेख गरिएको छ । आपूर्तिकर्ताहरुबाट प्रतिष्ठानलाई कति समयसम्म उधारोमा आपूर्ति गरिरहने ?’, सूचनामा भनिएको छ ।
प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न चाहेको नभई निरन्तर रूपमा उधारोमा औषधी र औषधीजन्य सामग्रीहरू खरिदमा सेवा सुचारू गर्दा आर्थिक सङ्कट उत्पन्न भएकाले समयमै बिमा बोर्डबाट भुक्तानी होस् र अझ प्रभावकारी ढङ्गले बिमा कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठान सक्षम होस् भन्ने उद्देश्य रहेको बताइएको छ । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रतिष्ठान प्रतिबद्ध रहेकोले प्रतिष्ठानमा सो कार्यक्रम सुचारू रहने सूचनामा भनिएको छ ।।