११ फागुन,घोराही -प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताउनुुभएको छ । सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गरेको आरोप उहाँले लगाउनुुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुधबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारमा रहेकाहरूले नै स्पष्ट दृष्टिकोण बनाउन नसक्दा एमसिसी परियोजना विवादित बनेको बताउनुुभएको हो ।
नेता पोखरेलले विगतका तथ्यहरूले एमसिसी परियोजना नेपालको निरन्तर प्रयासपछि आएको पुष्टि भए पनि एमसिसी परियोजना भित्र्याउन आफैं लागिपरेकाहरू अहिले एमसिसीमा विरोधी भएको देखाउन नाटक गरिरहेको पनि तर्क गर्नुभयो ।।