१० माघ, घोराही- दाङको घोराही उपमहानगरपालिका,१६ सर्रामा रहेको अम्बिकेश्वरी शिक्षा सदनको प्रिन्सीपलमा डा. शैलेन्द्र गिरी नियुक्त हुनुभएको छ । विद्यालयको समग्र विकाससँगै शैक्षिक उनयन र प्रगतिका लागि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको विद्यालय प्रशासनले बुधबार नेपाल सरकारका पूर्वकार्यकारी निर्देशक एवं राप्ती इन्जिनिरिङ कलेजका कार्यकारी अध्यक्ष डा. गिरीलाई प्रिन्सीपलको रुपमा चयन गरेको हो । २०५३ सालमा स्थापना भएको विद्यालयलाई अहिले शिक्षा, व्यवस्थापन र अनुसंधानका क्षेत्रमा लामो अनुभव प्राप्त नयाँ टिम र नयाँ व्यवस्थापनकासाथ सञ्चालनमा ल्याईएको छ ।
यस्तै, विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय अनुसार प्रवन्ध निर्देशकमा डा. भीमसेन गिरी नियुक्त हुनुभएको छ भने विद्यालयको सञ्चालक समितिको प्रवन्धकमा रेशम गिरी नियुक्त हुनुभएको हो । त्यसैगरी विद्यालयको काउन्सिलरमा दुर्गाप्रसाद शर्मा, माध्यमिक तहको इञ्चार्जमा विष्णुप्रसाद पोख्रेल, प्राथमिक तहको इञ्चार्जमा विमला चौधरी, पूर्व प्राथमिक तहको इञ्चार्जमा विन्दा जिएम नियुक्त हुनुभएको हो । विद्यालयमा नर्सरीदेखि कक्षा १० कक्षासम्म पठनपाठन भइरहेको छ साथै नयाँ मन्टश्वरी कक्षा पनि संचालनमा ल्याउदै छ ।
प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष वलीले नवनियुक्त पदाधिकारीहरुको नाम घोषणा गर्दै यो अम्बिकेश्वरी शिक्षा सदनलाई दाङ जिल्लाकै प्रविधि मैत्री एक नमुना विद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई अहिलेको युग अनुसारको सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने र त्यसका लागि विद्यालयले शिक्षालाई संस्कार, संस्कृति प्रविधिसँग जोड्न सक्नुपर्नेमा जोड दिनुभयो । विद्यालयले शैक्षिक उपलब्धि हाँसिल गर्नका लागि विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा जोड्नुपर्ने अध्यक्ष वलीको भनाइ छ । विद्यालयका नवनियुक्त प्रिन्सीपल डा. शैलेन्द्र गिरीले विद्यालयले प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक जिम्मेवारीकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी शैक्षिकसत्रदेखि नै विद्यालयमा पूर्णरुपमा डिजिटल माध्यमबाट पठनपाठन हुने बताउनुभयो ।
उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि सिकेको ज्ञानलाई व्यावहारीक रुपमा प्रयोग गर्नको लागि विद्यार्थीहरुलाई कक्षा १ देखि नै व्यवसायिक सीप विकासमा जोडदिने उद्घोष गर्नुभयो। साथै विद्यालयलाई शिक्षा क्षेत्रमा अब्बल र उत्कृष्ट बनाउनका लागि अनुभवी र शिक्षा क्षेत्रमा केही गरौ भन्ने सेवाभावकोसाथ नयाँ नेतृत्व आएको हुँदा अब विद्यलयले चाडै मुहार फेर्ने समेत उहाँको भनाइ छ ।
प्रिन्सीपल डा. शैलेन्द्र गिरीले यो विद्यालयलाई लुम्बिनी प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापीत गर्नको लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उहाँको भनाई छ । अब विद्यार्थीले ज्ञान मात्र प्राप्त गरेर नपुग्ने र पेशाग सिपको विकास गर्नु पर्ने अनिवर्य भएको हुँदा शिक्षण सिकाइलाई व्यावहारीक क्रियाकलापमा जोड्ने समेत उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता डा. शैलेन्द्र गिरीले गर्नु भएको थियो ।