९ माघ,घोराही –
त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि भोलि सोमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।
अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । यस्तै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।
यस्तै भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ । अनलाइन कक्षा व्यवस्थित भए÷नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।
कोरोना संक्रमणका कारण विद्यालय खुल्ने अनिश्चित बन्दा अहिले दाङका केही विद्यालयहरुले पुनः अनलाईन कक्षा सञ्चालन गरेर शैक्षिक क्रियाकलापलाई सञ्चालन गर्ने तयारीमा रहेका छन् ।।