७ मंसिर,काठमाडौं –
नेकपा (माओवादी केन्द्र) प्रथम राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ सम्मेलन हुनेछ ।
सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी माओवादी केन्द्रले जनाएको छ । सो पार्टीका अनुसार आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।
सम्मेलनको उद्घाटनसत्रमा अन्य राजनीतिक दल तथा विदेशी प्रतिनिधिलाई भने निम्तो नदिने माओवादी केन्द्रले जनाएको छ। प्रवक्ता महराका अनुसार प्रदेश, वडा र पालिका सम्मेलन सकिएको छ, प्रदेश सम्मेलन सकिएर नेतृत्व चयन हुन बाँकी प्रदेशमा पनि सम्मेलन अगाडि नै नेतृत्व चयन भइसक्नेछ ।
सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। हाल भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्नेलगायतका काम भइरहेका छन्।।