२०८१ मङ्सिर २५ गते मङ्गलवार

क्यान र राप्ती इञ्जिनियरिङको सहकार्यमा आइसीटी स्कलरसीप २०७८ घोषणा



७ पुस,घोराही – क्यान महासंघ दाङ शाखाको आयोजना र राप्ती इञ्जिनियरिङ कलेज घोराहीको सहकार्यमा मंगलबार आईसीटी स्कलरसीप २०७८ घोषणा गरिएको छ । क्यान र कलेजबीच भएको सम्झौता अनुसार ११ जना विद्यार्थीले २६ लाख रुपैयाँ बराबरको छात्रबृत्ति पाउने घोषणा गरिएको हो ।

क्यान महासंघका शाखा अध्यक्ष कर्णबहादुर पुनको अध्यक्षता एवं महासंघका केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देशभरबाट एकजनालाई पूर्ण छात्रबृत्ति र बाँकी १० जनालाई आंशिक छात्रबृत्ति प्रदान गरिने जानकारी गराइएको थियो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने उक्त छात्रवृत्ति विगत १४ वर्षदेखि सूचना प्रविधि विषय अध्यापन गराउँदै आएको राप्ती इन्जिनियरिङ कलेजसँग सहकार्य गरिएको छ । विसिएमा लाग्ने जम्मा चार लाखमध्ये एकजनालाई पूरै, दुई जनालाई ७५ प्रतिशतले आउने तिन लाख र आठजनालाई ५० प्रतिशतले आउने दुई लाख रुपैयाँ छुट गरेर छात्रबृत्ति प्रदान गरिने जनाइएको छ ।

मान्यताप्राप्त शैक्षिक संस्थाबाट ४५ प्रतिशत अंक वा सी ग्रेडसहित प्लस टु उत्तीर्णले आवेदन भर्न पाउने छन् । यसका लागि प्लस टु विज्ञान, सिटिभिटीबाट डिप्लोमा उत्तीर्ण गरेका वा अन्य संकायबाट एक सय पूर्णांकको कम्प्युटर वा गणित अध्ययन गरेको छात्रवृत्तिमा योग्य मानिने छ । दलित, जनजाति, सामुदायिक विद्यालय अध्ययन गरेको, दुर्गम क्षेत्र, आर्थिक अवस्था कमजोर भएको स्थानीय तहको सिफारिसलगायतका मापदण्ड तय गरेको छ ।

यसैगरी आइसीटी स्कलरसीप २०७७ बाट शतप्रतिशत छात्रवृत्ति पाएका समिर केसीले खुशी व्यक्त गर्नुभएको थियो । उहाँले आफूले प्रथम स्थान हासिल गरेर छात्रवृत्ति पाएको र अरुलाई पनिउत्कृष्ट बनेर अवसर लिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण क्यानका दाङ शाखा उपाध्यक्ष माधव अधिकारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्