७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तारको प्रयास गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको हो । यद्यपी भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी भने गराएका छैनन् । प्रधानमन्त्री ओली र देउवाबीच भेट भएको काँग्रेस सभापति देउवानिकट स्रोतले पुष्टि गरेको छ।
‘प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच हिजो बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा हुन सकेन।’ देउवानिकट स्रोतले भन्यो।
स्रोतका अनुसार पार्टी विभाजन भएको खण्डमा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री ओलीले कांग्रेसको साथ खोजेका थिए । देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट स्रोतको दावी छ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छिन् । सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ । ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा जानकारी गराएको छैन ।
ओलीले देउवालाई संवैधानिक निकायको नियुक्तिबारे छलफलका लागि भन्दै ओलीले बालुवाटार बोलाएको स्रोतको दावी छ।
यसअघि गत असारमा पनि पार्टीमा विवाद भएपछि ओली र उनी निकट नेताहरुले देउवासँग छलफल सरकारलाई साथ दिन आग्रह गरेको कुरा बाहिरिएको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा यसबारे प्रश्न उठेपछि देउवाले अहिले सत्तातर्फ कांग्रेसको ध्यान नभएको बताएका थिए।
फरकधारबाट