५ कात्तिक । बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन विहीवार कात्यायनीकोे पूजाआजा गरिदैँछ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने क्रममा छैटौं दिन कात्यायनीकोे पूजाआजा गर्ने चलन छ ।
विहीवार देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ ।
आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिघ्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।
कात्यायनी स्वरूपको पूजा विधि
सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ ।
देवीको पूजापछि महादेव र परमपिताको पूजा गर्नुपर्दछ। श्री हरिको पूजा देवी लक्ष्मीको साथ गर्नुपर्दछ । कात्यायनीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो छ । यी देवीको पनि सवारी सिंह हो भने यिनको चार भुजाहरु भक्तलाई वरदान दिनको लागि एक हाथ अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ । अन्य हातहरुमा एउटामा तरबार र अर्कोमा कमलको फूलरहेको हुन्छ ।