२०८१ चैत्र ११ गते सोमवार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन



६ भदौं,घोराही –आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।

यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेकाे छ ।

जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुने विश्वार रहीआएको छ ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।

तागाधारी जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

यसैबीच, तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।

यता, नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्