६ साउन, घोराही – किसान आन्दोलनका प्रथम सहिद गुम्रा थारूको आज ६२ औं स्मृति दिवस मनाईएको छ । घोराहीको ट्राफिक चोकमा सहिद गुम्रा थारुको शालिकमा माल्यार्पण गरिएको छ । नेकपा एमाले दाङका सहईन्चार्ज सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरिएको हो । कार्यक्रममा न्यौपानेले गुम्रा थारु किसान आन्दोलनका योद्धा भएको बताउनुभयो ।
किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान योद्धा भएको भन्दै वर्तमान समयमा पनि किसानले भोग्नु परेका समस्यालाई गम्भिरताका साथ हेर्नुपर्ने बताउनुभयो । स्मृति दिवसका अवसरमा थारु कल्याणकारीणी सभा दाङको आयोजनामा घोराही १७ पनौरामा रहेको गुम्रा सांस्कृतिक सङ्ग्रालय सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । साथै पद्मोदय विद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुद्वारा सङ्ग्रालय अवलोकन गरिएको छ । १९८२ सालमा जन्मिनु भएका गुम्रा किसान संघको सदस्य भएर काम गर्नुभएको थियो ।
कम्युनिष्ट पार्टीका किसान नेता बयरबटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, मानबहादुर, फुलपाती, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋषि चौधरी, अशोक चौधरीलगायत नेताहरु सँगसँगै गाउँ–गाउँमा किसानहरुलाई संगठित बनाउने काम गर्नुभएको थियो । किसानको पक्षमा संघर्ष गर्दागर्दै गुम्राथारु ३५ वर्षको उमेरमा सहिद हुनुभएको हो । २०१७ साल साउन ६ गतेका दिन तत्कालीन सरकारको निर्देशनमा खेत जोत्दै गर्दा गुम्रा थारुको हत्या गरिएको थियो ।।