२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा फेरि अस्वभाविक भिड, जोखिम टरेकै हो त ?



७ असार,घोराही –
निषेधाज्ञा थप खुकुलो भएसँगै दाङमा चहलपहल ह्वात्तै बढेको छ । सडकमा सवारीसाधनको चाप र बजारमा मानिसको भिडभाड छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख १७ गतेदेखि लागू भएको निषेधाज्ञा असार दोस्रो सातादेखि थप खुकुलो भएको छ । खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै पनि आइरहेको छ । दाङ प्रशासनले तेस्रो लहरको भाइरस संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डपूर्णरुपमा पालना गर्न आग्रह गरिरहेकोे छ ।

तर, बढ्दो भिडभाड र चहलपहल हेर्दा मानिसहरुले कोरोनालाई गिज्याइरहेको महसुस हुन्छ । न दुई मिटरको भौतिक दूरी कायम भएको देखिन्छ, न त मास्कको उचित प्रयोग नै । यसैगरी जिल्लामा बजार तथा पसलहरु बिहान ६ देखी बेलुका ८ बजे सम्म खोल्न पाईने, होटल रेष्टुरेन्टले प्याकिङ खाजा खाना घरमै पु¥याउने, सार्वजनिक सवारीका साधनले सिट क्षमता अनुसार बिहान ६ देखी बेलुका ६ बजे सम्म चल्न पाउने निर्णय भएको छ ।

त्यस्तै जोखिम कायमै रहेको भन्दै प्रशासनले भेला, सभा, सम्मेलन र बढी जमघट हुने क्षेत्रहरुलाई निषेश गरिएको गरेको छ । तर प्रशासनले निषेधाज्ञा कायमै रहेको भने पनि विद्यालय बाहेक अन्य क्षेत्र सबै खुला रहेका छन् । निषेध गरिएको सभा, सम्मेलन, गोष्ठी, सैलुन, जिमखाना, होटल, रेष्टुरेन्ट सबै खुल्ला रहेका छन् । जनस्वास्थ्यको पूर्ण पालना भने हुन सकेको छैन् । । यस्तो अवस्था हुदापनि नियमन गर्ने निकायहरु पनि सुस्ताएका छन् ।

त्यसैले पनि बजार तथा पसलहरुमा मानिसहरुको भिडभाड बढेको देखिन्छ । घोराहीमा बजारमा सामान किनमेलमा व्यस्त सल्यान बागचौर नगरपालिका ६ कि निर्मला बस्नेत मास्क लगाएपनि भौतिक दूरीको पालना गर्न भने नसकिएको सहजै बताउँनुहुन्छ । ‘सल्यान थारमारेबाट बसमा आए उहाँले भन्नुभयो–‘एउटै सिटमा दुईजना बस्नु पर्यो कसरी दूरीको पालना गर्न सकिन्छ ?’ अहिले कोरोना संक्रमण न्युन भएसँगै मानिसहरु कोरोना नभए झै गरेर बजारमा हिडडुल गरिरहेका छन् ।
बौद्धिक जमात समेत बिना माक्स बजारमा हिड्डुल तथा किनमेल गरिरहेको दृष्यहरु देख्निछ । घोराहीकी बिमला नेपाली भन्नुहुन्छ–‘पहिला जस्तो पसलमा सामान छान्न लाग्दिन छिटोछिटो सामान किनेर निस्किहाल्छु ।’ जिल्ला प्रशासन कार्यलयले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको र हरेक कार्य गर्दा वा घरबाहिर निस्किदा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने भनेको छ । तर दाङमा मानिसहरु वेपर्वाह देखिन्छन् ।

दाङका घोराही, तुलसीपुर, नारायाणपुर, भालुबाङ, लमही लगायतका स्थानमा किनमेलको भिडभाड नै लाग्ने गरेको छ । न व्यापारी र पसलेहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिन्छ न त उपभोक्ताले । कोरोना संक्रमणबाट बच्न दुई मिटरको दुरी कायम गर्ने सवाल त परैको हो, मास्क समेत लाउन छाडिएको छ । बजारमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन सरोकारवाला निकायले ध्यान दिएको देखिँदैन भने सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्डलाई वेवस्ता गरेको देखिन्छ । जस्का कारण भाइरस संक्रमणको जोखिम कायमै देखिन्छ । यस्तो अवस्था हुदापनि नियमन गर्ने निकायहरु पनि सुस्ताएका छन् ।

बजार तथा सडकमा देखिएको भिडले फेरि कोरोना संक्रमण बढ्न सक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन् । निषेधाज्ञाका कारण केही नियन्त्रणमा आएको कोरोना संक्रमण आगामी दिनमा बढ्न सक्न कारोना विशेष अस्पताल बेलझण्डीका व्यवस्थापक दोर्ण ओलीको भनाइ छ । निषेधाज्ञा खुकुलो हुने बित्तिकै सर्वसाधारणहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती फेरि पनि दोहो¥याउने काम गरिरहेको उहाँको भनाइ छ ।

अहिलको कोरोना संक्रमण अझै संक्रामक रहेको र मानिसहरुले फेरि जनस्वास्थ्यको मापदण्ड बेवास्ता गर्न थालेकाले आगामी दिनमा संक्रमण बढ्ने खतरा देखिएको चिकित्सकहरु बताउँछन् । नयाँ भेरिन्ट अहिलेको भन्दापनि थप संक्रामक भएकाले थप सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ । अत्यावश्यक काम गर्ने अवस्थामा मात्रै घर बाहिर निस्कने, घरबाहिर निस्किदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात हुने लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्