८ असार,घोराही – दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ। जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि ट्राफिक सचेतना प्रदान गरिएको हो ।
ट्राफिक सचेतना कार्यक्रमको प्रशिक्षणका रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियार रहनुभएको थियो । उहाँले बढ्दो शहरीकरणसँगै सवारी दुर्घटना बढि रहेकाले मानवीय तथा भौतिक क्षति कम गर्न र सभ्य समाज निर्माणका लागि ट्राफिक सचेतना अति आवश्यक रहेको बताउनुभयो ।
जसका लागि सडक अनुशासन पालना पहिलो प्राथमिकतामा राख्न सवारी चालक र यात्रुहरुलाई अनुरोध गर्नुभयो ।निर्माणाधीन सडकका कारण दुर्घटनाको जोखिम धेरै बढेकाले अमुल्य मानव जीवन बचाउन ट्राफिक नियम पालना मेरो लागि हो भन्ने सोँचलाई व्यवहारमा उतार्न ढिलाई गर्न नहुने बताउनुभयो ।
जीवन रहेमात्रै घर परिवार आफन्त छन्, जीवननै नरहे सबै सकिन्छ भन्ने गहन सोँच राखेर आफु र अरुलाई बचाउँदै गन्तव्यमा पुग्न सबैले ट्राफिक नियम पालनामा ध्यान दिनपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले नियम सबै क्षेत्रमा अपरिहार्य भएकाले यो अरुका लागि नभई आफ्नो लागि हो भनेर बुझ्न आवश्यक रहेको बताउनुभयो ।बढ्दो सवारी चापमा दुर्घटना स्वाभाविक रुपमा बढिरहेकाले सडक संस्कार स्थापित गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने बेला आएको बताउनुभयो ।।