२०८१ जेष्ठ ३० गते बुधवार

दाङको राजपुर गाउँपालिकामा माओवादी एक्लै भिड्ने



९ बैशाख, दाङ – नेकपा माओवादी केन्द्र दाङको राजपुर गाउँपालिकामा एक्लै भिड्ने भएको छ । पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् । दाङका २ उपमहानगर, एक नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह छन् । अरु स्थानीय तहमा सत्ता गठबन्धन हुने भएपनि राजपुरमा माओवादी एकल रुपमा प्रतिस्पर्धा गर्ने पार्टी केन्द्रीय सदस्य नारायणी शर्माले बताइन् ।

माओवादी राजपुरले सातै वडा अध्यक्षको नाम समेत टुंगो लगाएको छ । राजपुरको वडा नम्बर १ अध्यक्षमा विष्णु बुढा, वडा नम्बर २ अध्यक्षमा दुर्गा शर्मा, वडा नम्बर ३ अध्यक्षमा रामप्रसाद यादव, वडा नम्बर ५ अध्यक्षमा भोगेन्द्रसिंह राजपूत, वडा नम्बर ६ अध्यक्षमा श्याम रोका, वडा नम्बर ७ अध्यक्षमा पुस्कार ओलीले टिकट पाएका छन् । वडा नम्बर ४ अध्यक्षमा प्रतिस्पर्धा गर्नेको संख्या धेरै भएकाले सहमति हुन सकेको छैन । शुक्रबार बेलुकासम्म अध्यक्षको नाम फाइनल हुने शर्माले बताइन् ।

राजपुर गाउँपालिका अध्यक्षमा एमाले र काँग्रेसले नाम टुंगो लगाएका छैनन् । एमालेबाट यसअघि अध्यक्षमा पराजित भएका कुलराज गिरी नै पुनः उठ्ने तयारी गरेका छन् । यद्यपि पार्टीले निर्णय गरेको छैन । नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उठ्ने उम्मेदवारको टुंगो लगाएको छैन । अध्यक्षमा पुनः यसअघि निर्वाचित अध्यक्ष लोकराज केसी र उपाध्यक्ष धनपति यादवले आकांक्षा राखेका छन् । यस्तै शरद बुढाथोकी र लालवीर खड्काले पनि आकांक्षा राखेका छन् । काँग्रेसमा अध्यक्षमा उठ्ने उम्मेदवारको संख्या धेरै भएकाले टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्