९ चैत्र,घोराही ।
उद्योगी व्यवसायीहरुले स्थिर राजनिति र सरकार भए मात्रै आर्थिक विकासले गति लिने बताएका छन् । राजनितिमा हुने फेरबदलले विकासका आयाममा गम्भिर असर पार्ने भन्दै स्थिर राजनिति र सरकारको व्यवसायीहरुले माग गरेका हुन् ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको ५१ औँ स्थापना दिवसका अबसरमा बोल्ने व्यवसायीक नेताहरुले स्थिर राजनिति र सरकार भए मात्रै संबृद्धीको सपना पुरा गर्न सकिने बताएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थिर सरकार नहुदा अपेक्षाकृत बिकासलाई अघि बढाउन नसकिएको उल्लेख गर्नुभयो । उपलब्धीलाई संस्थागत गर्दै लैजानु पर्नेमा फेरी राजनितिक अस्थिरताले सरकारमा समेत असर पारेको बताउनुभयो ।
उद्योगी व्यवसायी लगानी गर्न तयार भए पनि अस्थिर राजनितिले निराशा बनाएको उहाँको भनाई छ । त्यसैगरी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर आचार्यले देशको चौतर्फि विकासको आधार नै आर्थिक क्षेत्र भएको बताउनुभयो ।
आर्थिक, सामाजिक र भौतिक विकासका लागि राजनिति र सरकार स्थिर हुनुपर्नेमा जोड दिनुभयो । तर राजनितिमा आउने हलचलले सरकारलाई समेत प्रभाव पार्ने र त्यसको असर आर्थिक बिकासमा पर्ने उहाँको भनाई छ ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले उद्योगी व्यवसासी उपभोक्ता र राज्य प्रति सधै जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने विभिन्न उद्योग बाणिज्य संघका प्रतिनिधीहरुले आर्थिक विकासका लागि लगानी मैत्री बाताबरण अझै बन्न नसकेको गुनासो गरेका छन् ।
राजनितिक तरलतामा अनेक समस्याहरु सृजना हुने भन्दै उहाँले राजनितिक स्थायीत्व हुनुपर्नेमा जोड दिएका छन् । संघका महासचिब महेन्द्र बुढाथोकीले सहजिकरण गर्नुभएको कार्यक्रममा स्थापना दिवसमा सञ्चालन भएका विभिन्न प्रतियोगीतामा विजयी भएकालाई पुरस्कार र विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ ।।