८ माघ,काठमाण्डौं –
नेकपा (माओवादी) केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले सो निर्णय गरेको हो। त्यस्तै, बैठकमा बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको नेता कृष्णबहादुर महराले बताए।
उनले एमसिसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए।
महराले भने, ‘अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्य साथ बैठक बोलाइएको हो। आजको बैठकमा तीन वटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्षले।’
कोभिड (१९ को महामारी मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्कालीन कामहरू अध्यक्षले अघि बढाउने निर्णय भएको उनले बताए।
‘अर्को एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने। त्यो कार्यदलको सुझाव पर्खिने भन्ने छ,’ महराले भने।
यसैगरी, चुनावको विषयमा छलफल भएको महराले बताए। चुनाव सकेसम्म कम खर्चमा र तीन वटै चुनाव एकैपटक गर्न पाए राम्रो हुने ढंगबाट छलफल चलेको उनले बताए।
‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरूको रायअनुसार कानुनविदसँग छलफल गरेर निष्कर्षमा पुग्नेछौं,’ उनले भने।।