६ पुस,घोराही – गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभयो ।
उहाँले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताउनुभयो । गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभइ निःसर्त अनुदान भएको स्पष्ट पार्नुभयो ।
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उहाँको भनाई छ ।
एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने दावी गर्नुभयो ।।