५ असाेज ,घोराही –
महिनावारी भएका बेलामा प्रयोग गरिने सेनेटरी प्याडको उत्पादन दाङमै हुदै आएको छ । २०७६ साल मंसिर महिनाबाट राप्ती गाउँपालिका ५ पहरुवाबाट उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको हो ।
मध्यपश्चिम क्षेत्रमै पहिलो पटक ठुलो लगानीमा सेनेटरी प्याड उत्पादनको काम हुदै आएको छ । रोशन गुप्ता, बिष्णु गुप्ता, अजय गुप्ता, प्रशान्त जिसी र सपना गुप्ताले संयुक्त रुपमा लगानी गरेर सेनेटरी प्याड उत्पादनका लागी उद्योग सञ्चालन गर्नुभएको हो ।
जयमाता दी सेनेटरी उद्योग प्रालीबाट डिप्सी र स्टेफी गरी दुई वटा ब्राण्डमा सेनेटरी प्याड उत्पादन हुदै आएको छ । उद्योगबाट उत्पादन हुने गरेका प्याडहरु दाङ सहित ३५ वटा जिल्लामा निर्यात हुने गरेपनि कोरोना भाईरसको महामारीका कारण व्यवसाय फस्टाउन नसकेको रोशन गुप्ताको भनाई छ ।
५ जनाले संयुक्त रुपमा करिव ८ करोड रुपैया लगानी गरेर सञ्चालन गरेको उद्योगभित्र अहिले २८ जनाले र मार्केटिङको रुपमा १२ जनाले काम गर्दै आएको उहाँले बताउनुभयो । मेसिनका साथै सेनेटरी प्याड उत्पादनका लागी आवश्यक पर्ने अन्य कच्चा पदार्थहरु समेत विदेशबाटै आयात गर्नुपर्ने उहाँको भनाई छ ।।