७ जेठ, घोराही – घोराही उपमहानगरपालिकामा डेढ प्रतिशत बढी मत बदर भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा खसेको कूल ७६ हजार पाँच सय २१ मतमध्ये १ दशमलब ७६ प्रतिशत अर्थात एक हजार तीन सय ५४ मत पूर्णरुपमा बदर भएको हो ।
मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाका अनुसार ती एक हजार तीन सय ५४ मत गणनामै समावेश भएका थिएनन् । त्यसैगरी लगाउनुपर्ने भन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर केही पदमा बदर भएको मतको संख्या भने अरु थप धेरै देखिएको उहाँको भनाइ छ ।
पूर्णरुपमा बदर भएका मतहरु वडा नं. १ मा ५३, २ मा २७, ३ मा ६२, ४ मा ९, ५ मा ५६, ६ मा २९, ७ मा ७६, ८ मा ७३, ९ मा ३६, १० मा ८९, ११ मा ६६, १२ मा एक सय ६१, १३ मा ९, १४ मा ३०, १५ मा ९७, १६ मा ९४, १७ मा एक सय २७, १८ मा ८३ र १९ मा ५२ मत बदर भएको थियो ।
बदर हुने मतपत्रमा औंठाछाप लगाएको, दुबै उम्मेवारलाई मत दिएको लगायत छन् । गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा झण्डै चार प्रतिशत मत बदर भएको थियो ।।