२०८१ जेष्ठ ३० गते बुधवार

हावाहुरीले उत्तरी प्यूठानमा विद्युत् र सडक अवरुद्ध



७ जेठ, प्यूठान — शुक्रबार साँझ आएको हावाहुरीले विद्युत्‌का पोल ढाल्दा उत्तरी प्यूठानको नौबहिनी क्षेत्रका अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको छ । नौबहिनी गाउँपालिकाका विभिन्न ठाउँमा पोल र रुखहरू ढलेर तार चुडिएका कारण विद्युत् अवरुद्ध भएको स्थानीय प्रकाश घिमिरेले जानकारी दिए । हावाहुरीले ठाउँठाउँमा रुखहरू ढाल्दा ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन् ।

विद्युत्‌का पोल ढल्दा र रुख ढलेर तार चुडिँदा नौबहिनी गाउँपालिकाको फोप्ली, लुप्लुङ्ग, लुंग, खवांग, डार्मी, लिघालगायत बस्तीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सुचारुका प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

एक्कासी आएको हावाहुरीले प्यूठानको लुंगमा रहेका बालविकास केन्द्र, लुंगकै सचेतना केन्द्र, नेरा प्रावि बास्कोट तथा फोप्लीको स्वास्थ्य चौकीको छाना उडाएको थियो । साँझ ६ बजेतिर आएको हावारहुरीले स्वर्गद्वारी नगरपालिकाको जुडापाटाको कृषि फार्ममा पनि क्षति पुर्‍याएको छ । हावाहुरीले दर्जनौं सर्वसाधारणको घरको छाना समेत उडाएको छ । हावाहुरीले झिमरुक गाउँपालिकालगायत क्षेत्रमा पनि क्षति पुर्‍याएको छ । कान्तिपुरबाट

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्