८ बैशाख,घोराही ।
लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले उपचार पाउन अप्ठेरो भएको छ ।दाङको बेलझुन्डी, रूपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगन्जमा रहेका कोरोना विशेष अस्पतालमा संक्रमितले भरिएपछि नयाँ संक्रमितले उपचार पाउन अप्ठेरो भएको हो ।
यी बाहेक घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगन्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा २ सय ४१ बेड मात्रै छ । यहाँका विभिन्न निजी अस्पतालले ३ सय ८१ बेड कोरोना संक्रमितका लागि छुट्याइएका छन् ।
पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ५९ संक्रमित आईसीयूमा, १० जना भेन्टिलेटर र जनरल बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् । बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा पाँच आईसीयू बेड र २० अक्सीजन सहितको बेड रहेको र ति सबै भरिभराउ अवस्थामा छन् ।
यसैविच लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। दाङ, बाँके र रूपन्देहीमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन् ।