२०८२ बैशाख ९ गते सोमवार

‘खेलकुदले मलाई अनुशासन र इमान्दारिता सिकाएको छ’-प्रशिक्षक थापा



हप्किडो, अध्ययन, र भविष्यका लक्ष्यहरू नेपालको खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाइरहेका बिशाल थापा हाल हप्किडो खेलका प्रशिक्षक, रेफ्री तथा आयोजकका रूपमा सक्रिय छन्। खेलकुदमा मात्र होइन, उनी कानूनी क्षेत्रमा करियर बनाउन चाहन्छन्। विज्ञान संकायमा अध्ययन गरिरहेका बिशाल खेल, अध्ययन र भविष्यका योजना मिलाएर अघि बढिरहेका छन्। हामीले उनीसँग विशेष कुराकानी गरेका छौं।

हप्किडोमा तपाईंको यात्रा कसरी सुरु भयो?

मलाई सानैदेखि खेलकुदमा रुचि थियो। जब म हप्किडो सिक्न थालेँ, मलाई यो खेलको अनुशासन, आत्मरक्षा प्रविधि, र शारीरिक तथा मानसिक सन्तुलन मन पर्यो। मैले निरन्तर मेहनत गरेँ, विभिन्न प्रतियोगिताहरूमा भाग लिएँ, र आज प्रशिक्षक तथा राष्ट्रिय रेफ्रीको भूमिकामा आइपुगेको छु।

हाल तपाईं हप्किडोमा के-के भूमिकामा हुनुहुन्छ? 

म हाल गोरखा स्कूल हप्किडो डोजाङको प्रमुख प्रशिक्षक हुँ। साथै, नेपाल हप्किडो संघको राष्ट्रिय रेफ्रीको रूपमा काम गरिरहेको छु। म दोस्रो राष्ट्रिय प्रोफेसनल हप्किडो च्याम्पियनसिपमा रेफ्रीको रूपमा सेवा दिँदैछु। साथै, पहिलो घोराही नगर अन्तरविद्यालय हप्किडो च्याम्पियनसिपमा समन्वयकको भूमिका पनि निभाएँ। हप्किडोको विकासका लागि योगदान दिन पाउँदा गर्व लाग्छ।

तपाईंलाई सिकाउने, प्रतिस्पर्धा गर्ने वा रेफ्री बन्ने मध्ये कुन बढी मनपर्छ?

खेलको हरेक पक्ष मनपर्छ, तर विशेष गरी सिकाउने र रेफ्री बन्ने कार्य मनपर्छ। प्रशिक्षकका रूपमा नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्न पाउनु सुखद अनुभूति हो। रेफ्रीको रूपमा खेल निष्पक्ष रूपमा सञ्चालन गर्न भूमिका खेल्न पाउनु गर्वको कुरा हो।

हप्किडो बाहेक, तपाईं कानूनी क्षेत्रमा पनि रुचि राख्नुहुन्छ। त्यसको प्रेरणा के हो?

म न्यायको पक्षधर हुँ। समाजमा अन्याय हुने घटना देख्दा मलाई सधैं लाग्थ्यो—न्याय दिलाउन सकियोस्। त्यसैले, भविष्यमा इन्स्पेक्टर, वकिल, वा कुनै पनि कानूनी भूमिकामा रहेर अन्यायविरुद्ध लड्न चाहन्छु। म चाहन्छु, समाजमा हरेक मानिसले न्याय पाओस्।

खेलकुद र कानूनी क्षेत्र फरक छन्। यी दुई क्षेत्रलाई कसरी हेर्नुहुन्छ?

दुबै क्षेत्रमा अनुशासन, धैर्य, र न्याय आवश्यक छ। खेलकुदमा नियम पालना गर्नुपर्छ, निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ। त्यस्तै, कानूनी क्षेत्रमा पनि नियम र न्यायको महत्व हुन्छ। खेलकुदले मलाई अनुशासन र इमान्दारिता सिकाएको छ, जुन गुण भविष्यमा कानूनी क्षेत्रमा काम गर्दा उपयोगी हुनेछ।

पाईं हाल १२ कक्षामा विज्ञान संकायमा अध्ययन गर्दै हुनुहुन्छ। पढाइ र खेलकुदलाई कसरी सन्तुलनमा राख्नुहुन्छ? 

हो, म अहिले १२ कक्षामा विज्ञान संकायमा अध्ययन गर्दैछु। अध्ययन र खेलकुदलाई सन्तुलनमा राख्न समय व्यवस्थापन महत्त्वपूर्ण हुन्छ। म अध्ययन र खेललाई अलग-अलग समय छुट्याएर ध्यान केन्द्रित गर्छु। बिहान पढ्ने, दिउँसो वा बेलुका प्रशिक्षण दिने तालिका बनाएको छु। कहिलेकाहीँ थकाइ लाग्छ, तर लक्ष्य प्राप्त गर्न मेहनत गर्नु नै पर्छ।

 विज्ञान संकाय अध्ययन गरिरहनु भएको छ। के तपाईं भविष्यमा विज्ञान र कानूनी क्षेत्र जोड्न सक्ने सम्भावना देख्नुहुन्छ?

अवश्य! विज्ञान र कानून एक-अर्कासँग जोडिन सक्छ। जस्तै—फरेन्सिक विज्ञान, डिजिटल अपराध अनुसन्धान, स्वास्थ्य कानूनी क्षेत्र, इत्यादि। म कानूनी क्षेत्रमा गए पनि, विज्ञानको ज्ञान प्रयोग गर्न सक्छु।

तपाईं जस्तै खेलकुदमा लागेका तर अन्य ठूला सपना देख्ने युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ?

खेलकुद मात्र होइन, कुनै पनि क्षेत्रमा सफल हुन दृढ संकल्प, मिहिनेत र अनुशासन आवश्यक पर्छ। म सबै युवालाई भन्न चाहन्छु—आफ्नो सपना पछ्याउनुहोस्, तर पढाइलाई कहिल्यै पछाडि नछोड्नुहोस्। खेलकुदले जीवनमा अनुशासन र सहनशीलता सिकाउँछ, जुन हरेक क्षेत्रमा उपयोगी हुन्छ। निरन्तर प्रयास गरे सफल भइन्छ, त्यसैले कहिल्यै हार नमान्नुहोस्।

अन्तमा, तपाईंको भविष्यका योजनाहरू के-के छन्?

मेरो पहिलो प्राथमिकता १२ कक्षा राम्रोसँग पास गर्ने र कानूनी क्षेत्रमा करियर बनाउने हो। साथै, हप्किडोको विकासमा पनि योगदान दिइरहनेछु। मैले सुरू गरेको हप्किडो यात्रा अझ अगाडि लैजान चाहन्छु।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्