३१ भदौ, घोराही- तीजको मुखैमा डेरी व्यवसायीले सरकारी मापदण्ड नपुगेको दूध उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकसहितको अनुगमन टोलीले गरेको निरीक्षणमा दूधमा हुनुपर्ने तत्व नभएको पाइएको हो । २०७९ फागुनमा पनि घोराहीका डेरीमा अनुगमन गर्दा पानीको मात्रा बढी रहेको प्रमाणित भएको थियो ।
घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले तीजको मुखैमा घोराहीका डेरीमा अनुगमन गरेर नमूना परीक्षण गर्दा दूधमा गुणस्तर नपुगेको तथा पानीको मात्रा धेरै देखिएको फेला पारेको छ । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले तोकेको मापदण्ड अनुसार दूध नपाइएको हो ।
निर्देशिकामा अम्लता, बढीमा ०.१६ प्रतिशत, दूधमा चिल्लो पदार्थ गाईको र मिश्रित घटीमा ३।५ प्रतिशत र भैंसीको पाँच प्रतिशत हुनुपर्छ । चिल्लोबाहेकको ठोस पदार्थ भैंसीको र मिश्रितमा आठ, गाईकोमा सात दशमलव पाँच प्रतिशत भन्दा कम हुन नहुने व्यवस्था छ । घोराहीका पाँचवटा डेरी बाट लिइएको नमूना परीक्षणमा दूधमा चिल्लो पदार्थ, चिल्लोबाहेकको ठोस पदार्थ कम भएको पाइएको छ । पाँच वटा डेरीको अनुगमनमा चार वटाको तेस्रो पटकको अनुगमन हो ।
सबै डेरीको दूधमा कैफियत भेटिएको छ । दूधमा चिल्लो पदार्थ, चिल्लोबाहेकको ठोस पदार्थ कम भएको तथा पानीको मात्रा अत्यधिक रहेको पाइएको छ । घोराहीको हिमाल डेरीमा चिल्लो पदार्थको मात्रा ४।१ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६।४ प्रतिशत देखिएकोे छ । राप्ती कफी हाउसको दूधमा चिल्लो पदार्थको मात्रा ४।४ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६।४६ प्रतिशत पाइएको छ ।
रिजाल डेरी एण्ड कफी हाउसको दूधमा चिल्लो पदार्थको मात्रा ४।२ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६।२ प्रतिशत पाइएको छ । त्यस्तै दाङ घोराही डेरीको दूधमा चिल्लो पदार्थको मात्रा ४।९३ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ६।३ प्रतिशत पाइएको छ । सहिदगेटमा रहेको लमही डेरीको दूधमा चिल्लो पदार्थको मात्रा ५।४ प्रतिशत र चिल्लोबाहेकको ठोस पदार्थ ७.६ प्रतिशत पाइएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत मोहन सिंह सुनारले जानकारी दिनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकसहितको टोलीले गाडीमै स्टार्च मिसावटको पनि परीक्षण गरेको थियो । स्टार्च परीक्षण दूधमा गाढापन दिन मैदा, चामलको चौलानी जस्ता ठोस वस्तुको मिसावट भए नभएको परीक्षण गरिन्छ । खाद्य निरीक्षक राजेश चौधरीले दूधको स्टार्च परीक्षणमा मिसावट नपाइए पनि एसएनएफ परीक्षणमा भने कैफियत भेटिएको बताउनुभयो । ‘
एसएनएफमा फ्याट (चिल्लो पदार्थ) बाहेकको ठोस पदार्थको मात्रा जाँचिन्छ । त्यसमा कम भए पानीको मात्रा बढी भएको हुन्छ’– उहाँले भन्नुभयो– ‘परीक्षणमा पानी धेरै राखेको देखिन्छ ।’ उहाँले दूधको ब्यवसाय गर्नेले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताउनुहुन्छ । ‘डेरी पसलले दूध राख्दा तापक्रम मेन्टेन गर्नुपर्छ, सरसफाइ लगायतको मापदण्ड पु्¥याउनुपर्छ भने प्लास्टिकका भाँडामा दूध राख्नुहुँदैन’– उहाँले भन्नुभयो– ‘आल्मुनियम तथा स्टेनलेस स्टीलका भाँडा प्रयोग गर्नुपर्छ ।’ दूधबाट बन्ने खाद्यपदार्थ जस्तै दही, घ्यु, पनिर उपयुक्त तामक्रममा राख्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार अझै सरसफाइ र दूध भण्डारणमा डेरीमा समस्या छ । यो समाचार आजको नयाँ युगबोध दैनिकमा शन्तोष खनालले लेख्नुभएको छ ।।