२०८० असोज ६ गते शनिवार

तीजको दरमा के खाने ? के नखाने ?



विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।
दरको रुपमा विभिन्न मीठा परिकार खाने तथा खुवाउने गरिन्छ । भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने चलन रहँदै आएको छ ।

तीजको दरमा के खाने ?
– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन ।
–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ ।
–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ ।
–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।
–दरसँग अल्कोहल पीउनु हुँदैन ।

तीजको दरमा के नखाने ?
धेरै नखाने

दर खाँदा शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाउनुहुन्छ ।

स्वच्छ खाने
वर्षातको मौसम छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

पोषिलो खाने
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ ।

सुझाव
व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्