२७ भदौ ,काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिकलाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ । आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
रिपोर्ड कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैले जिम्मेवारी वहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन । जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको शुरुवात भएको छ । यो राम्रो शुरुवात हो । तर राम्रो परिणाम ल्याउन आउने दिनमा धेरै मेहनत गर्नुपर्दछ । त्यसरी मात्र परिणाम दिन सकिन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको ‘आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गएको वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ ।
आ.व. २०७८।०७९ मा भुक्तानी सन्तुलन २५५ दशमलव २६ अर्ब ऋणात्मक रहेकोमा आ.व. २०७९।०८० मा सुधार आई २९० दशमलव ५२ अर्ब भएको छ । त्यसैगरी वैदेशिक विनिमय सञ्चिति १२१५ दशमलव ८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९ दशमलव ३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्ति गएको वर्ष १००७ दशमलव ३१ रहेकोमा यस वर्ष १२२० दशमलव ५६ अर्ब रहेको सरकारको तथ्याङ्क रहेको छ ।