२०८० असोज ६ गते शनिवार

तुलसीपुरमा रासायनिक मल डिएपीको बोरामा युरिया मल फेला



२२ भदौ,दाङ- तुलसीपुरमा रासायनिक मल डिएपीको बोरामा युरिया मल फेला परेको छ । तुलसीपुर–१६ फचकलुवामा रहेको पिपल चौतारी कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरबाट लगेको डिएपी मलको बोरामा युरिया फेला परेको हो । कम्पनीबाट दुईदिन अघि खरिद गरेको मल बिहीबार सहकारीले ग्राहकलाई बिक्री गर्दा डिएपी मलको बोरामा युरिया फेला परेको संस्थाका सचिव यज्ञमूर्ति गौतमले बताए ।
‘सहकारीले बिहीबार बिहान बिक्री गरेको ६८ बोरा डिएपी मलमध्येमा एउटा डिएपी मलको बोरामा युरिया फेला परेको हो’ उनले भने– ‘कहाँबाट त्यस्तो भयो, सोधिखोजी गरिरहेका छौँ ।’ उनले सोहि मल दुई दिनअघिमात्रै खरिद गरेको बताए । ‘हामीले दुई दिनअघि कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाबाट ल्याएको मल बिहीबार वितरण गरेका थियौँ’ उनले भने– ‘जम्मा ६८ बोरा डिएपी मल वितरण गर्दा एकजना किसानले लगेको डिएपी मलको बोरामा युरिया फेला परेको हो ।’
  किसानले युरिया फेला परेको मलको बोरा सहकारीमै फिर्ता गरेको उने बताए । ‘डिएपी मलमा युरिया फेला परेपछि ति किसानले मल सहकारीमै फिर्ता ल्याउनुभयो’ उनले भने– ‘त्यो मलको बोरा अहिले सहकारीमै सुरक्षित किसिमले राखेका छौँ ।’ कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाका निमित्त प्रमुख कृष्ण प्रसाद खनालले कुनै प्राविधिक त्रुटिका कारण त्यो भएको हुनसक्ने बताए । ‘हाम्रो शाखामार्फत त्यस्तो कुनैपनि त्रुटि भएको छैन्’ उनले भने– ‘केन्द्रबाट पठाउँदा कुनै त्रुटि भयो होला, के रहेछ हामीले सम्बन्धित सहकारी संस्थामा सम्पर्क गरेर तुरून्तै बुझ्छौँ ।’

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्