२०८० असोज ६ गते शनिवार

दाङमा मकैको डाँठ कुहिने रोग



१९ भदौ, घोराही- अहिले दाङका विभिन्न ठाउँहरुमा ब्यापकरुपमा मकैको डाँठ कुहिने रोग देखिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख नरेश धितालले शान्तिनगरमा महामारीको रुपमा यो रोग फैलिएको बताउनुभयो ।

शान्तिनगर गाउँपालिकामा महामारीको रुपमै फैलिएको गाउँपालिकाका कृषि प्राविधिक केशव केसीले जानकारी दिनुभयो । उहाँले पालिकाका सबै वडामा रोग फैलिएको बताउनुभयो ।

शान्तिनगरमा कार्यपालिका बैठकले पीडित किसानको राहतका सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले बबईमा मकैको डाँठ सुक्ने रोगले किसान चिन्तित बनेको बताउनुभयो ।

पालिकामा फल नलाग्दै मकैको बोट सुक्न थालेपछि किसान चिन्तित भएको उहाँको भनाइ छ । यस्तै राप्ती गाउँपालिकामा पनि फाटफुटरुपमा डाँठ सुक्ने रोग देखापरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

गढवा गाउँपालिकामा पनि मकैको डाँठ सुक्ने रोग देखा परेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्