१९ भदौ, काठमाडौं- एसिया कप २०२३ अन्तर्गत हिजो भारतविरुद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन् । भारतसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा रोहित सन्तुष्ट देखिएका हुन् ।
‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु । विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौँ। मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ।
बलिङबारे उनले भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरूलाई रोक्ने थियो । पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो ।’
सोमबार श्रीलङ्काको पल्लेकेलेमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो । वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो ।