२८ साउन, घोराही –लुम्बिनी प्रदेशका केही स्थानमा आज अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
साथै सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। पूर्वबाट पश्चिम(दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो । मौसमविद गोविन्द झाका अनुसार आज सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक( दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ । अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको मौसमविद झाले जानकारी दिए ।
‘पानी त पर्छ तर अहिलेको जस्तो हुँदैन, क्रमिक सुधार हुन्छ,’ उनले भने । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ३६ देखि ५० प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।