८ माघ,घोराही- घोराहीमा जारी तेश्रो संस्करणकको उपमेयर कप छात्रा भलिबल प्रतियोगितामा पद्मोदय नमुना मावि भरतपुर सेमिफाइनल प्रवेश गरेको छ । घोराही १५ सहिद मन्चमा जारी प्रतियोगितामा आज आईतबार भएको क्वाटर फाईनलमा महेन्द्र मावि धर्नालाई २–० को सोझो सेटमा हराउँदै साविक विजेता पद्मोदय नमुना मावि भरतपुर सेमिफाइनल प्रवेश गरेको हो । पद्मोदयले २५–१२ र २५–१४ को सेटमा हराएको हो ।
यसअघि नकआउट चरणका २ खेलमा हापुर मावि निघुवार र जयशेर मावि रावतगाउँ क्वाटर फाईनल प्रवेश गरेका छन् । हापुर मावि निघुवारले मनकामना बोर्डिङ स्कुल चौघेरालाई हराउँदा जयशेर मावि रावतगाउँले सिद्ध रत्ननाथ मावि नारायणपुरलाई २–० को सोझो सेटमा हराएको छ । हापुर मावि निघुवारले २७–२५ र २५–१५ ले हराउँदा जयशेर मावि रावतगाउँले सिद्ध रत्ननाथ मावि नारायणपुरलाई २५–९ र २५–१९ को सेटमा हराएको छ ।
अब भोलि सोमबार क्वाटर अन्तरगत ज्ञानसिन्धु मावि र बालविकास मावि बीच खेल हुनेछ । यसैगरी अर्को क्वाटर फाईनलमा गोरक्ष रत्ननाथ मावि चौघेरा र हापुर मावि निघुवार बीच खेल हुनेछ तथा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल र जयशेर मावि रावतगाउँबीच खेल हुने भएको प्रतियोगिता समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । दुई समुह बनाएर खेलाईएको खेलमा समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् ।
यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् । आगामी ११ गते फाईनल खेल खेलाईने खेलमा कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ । यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल पाउने छ । गत वर्षभने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो । विद्यालय तहबाटै छात्राहरुलाई खेल क्षेत्रमा प्रेरित गर्ने लक्ष्यका साथ घोराही उपमहानगरले प्रतियोगिता संचालन गर्दै आएको छ ।