८ माघ, घोराही- पहाडदेखि तराईसम्म फल्ने गहुँका नयाँ नयाँ जातका बीउ अनुसन्धान गरी उत्पादन बढाउन राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम सञ्चालनमा छ । तर, वैज्ञानिकले सिफारिस गरेका धेरै बीउ किसानमाझ पुग्न सकेका छैनन् ।
सरकारले सिफारिस गरेका बीउको प्रचारप्रसार र उत्पादनमा जोड नदिँदा किसानहरू परम्परागत गहुँको खेती गर्न बाध्य भएका हुन । गएको वर्ष पहाड र तराईका लागि गहुँका ६ नयाँ जात सिफारिस भएका थिए ।
पहाडका लागि खुमल शक्ति, भेरी गंगा र हिम गंगा जात एवं तराई भेगका लागि जिंक गहुँ १, जिंक गहुँ २ र बोर्लग २०२० हुन । राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले सात वर्ष लामो अनुसन्धानबाट तीन वर्षअघि विकास भएको जातलाई सरकारले गत वर्ष सिफारिस गरेको थियो ।
नेपालमा ७ लाख ११ हजार ६७ हेक्टरमा गहुँ खेती हुन्छ । यसबाट वार्षिक २१ लाख २७ हजार २ सय ७६ मेट्रिक टन गहुँ उत्पादन भइरहेको तथ्यांक छ । अझै पनि करिब ४ लाख मेट्रिक टन गहुँ बाहिरी मुलुकबाट आयात भइरहेको छ ।।