२०७९ माघ १९ गते बिहिवार

विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनमा फस्न नदिन सचेत गराउँदै



६ माघ, दाङ- दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनमा फस्न नदिन सचेत बनाउन थालेको छ । स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिनुभएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै लागूऔषधको कुलतमा फस्दै जान थालेपछि विद्यालय सचेतना कार्यक्रम सुरु गर्नु परेको अध्यक्ष बेल्वासेले बताउनुभएको छ । यसै बीच आज राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन सम्बन्धि विद्यालय सचेतना कार्यक्रम गरेको छ ।

https://www.vianet.com.np/

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रञ्जना सुनामको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रअ लोकेन्द्र केसीको विष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नार्कोनन नेपालका लुम्बिनी प्रदेश संयोजक वसन्त पुनले विद्यार्थीहरूलाई लागू पदार्थको परिचय, सेवन कर्ताहरूमा देखिने लक्षण, बच्ने तरिका र सभ्य समाज कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी वरिष्ठ हवल्दार बसन्त खड्काले लागूऔषध सेवन तथा बिक्रीवितरण गर्नेलाई के– कस्तो कारवाही गरिन्छ भन्ने विषयमा जानकारी गराउँदै कुलतमा नलाग्न सुझाव दिनुभएको हो । सो कार्यक्रममा विद्यालयका सहायक प्रअ माधव प्रसाद सिंह, आशाका किरण संस्थाका, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल लगायतको उपस्थिति रहेको थियोे ।

 

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्