६ माघ, काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन् । आज बसेको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छन् ।
उनको समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । सत्ता गठबन्धनमा शक्ति बाँडफाँट गर्ने क्रममा रास्वपालाई उपसभामुखको पद भाग परेको थियो ।
प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।