२०७९ मङ्सिर २१ गते बुधवार

‘हेभिवेट’ लाई हराएकी ‘लो वेट’ रेखा



८ मंसिर, दाङ – ‘हेभिवेट कसलाई मान्ने?’ माओवादीकी रेखा शर्माले भनेकी थिईन् ‘को हेभिवेट भन्ने कुरा जनमतले पुष्टि गर्ने छ।’ दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि भिडेका एमालेका शंकर पोख्रेल भावी प्रधानमन्त्री र एमालेको भावी अध्यक्षका रुपमा प्रचार गरिए। जनमत बटुल्नका लागि गरिएको यो प्रचारका बिरुद्ध उनि खरो बनिन्।

उनले यति नै भनिन् ‘हेभिवेट कसलाई मान्ने ?,हुने खाने वर्गको घरमा जन्मीएर हेभिवेट बनिन्छ भने म लो वेट नै हो, म स्वीकार्छु।’ आफूलाई ‘लो वेट’ उम्मेदवारका रुपमा मतदाता सामु प्रस्तुत गरिरहेकी रेखाले हेभिवेटको मापन जनमतले गर्ने भन्दै यसको तिथी मंसिर ४ लाई देखाईरहिन्।

‘राष्ट्र र राष्ट्रियता जोगाउने हेभिवेट कि राष्ट्रीयता माथि प्रहार गर्न खोज्ने हेभिवेट हुन् ?’ उनले भन्दै आएकी थिईन् ‘यसको निर्धारण मंसिर ४ को जनमतले गर्ने छ।’ नभन्दै उनै लो वेट रेखालाई जनमतले हेभिवेट शंकर माथि हाबी गराईदिएन मात्रै हेभिवेटलाई पराजित गरेर हेभिवेट बनाईदियो।

७९ हजार ४ सय बढि मतदाता रेखा र पोख्रेलको जीत हारका निर्णायकका रुपमा प्रस्तुत भए। यो मध्य बहुमत जनमतले हेभिवेट नेताका रुपमा प्रचार भएका शंकरलाई लो वेट रेखाका सामु झुक्न बाध्य बनाईदियो। बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा रेखाले शंकरलाई १ सय ९७ मतले पछि पारिन्। २६ हजार ८ सय ७७ मत प्राप्त गर्दै रेखा निर्वाचित हुँदा एमाले महासचिव पोख्रेल २६ हजार ६ सय ८० मतमा सिमित भए।

हेभिवेट नेताका रुपमा प्रचारित पोख्रेल मूलतः यसै एजेण्डाको बलमा निर्वाचन जित्ने बिश्वासमा थिए। अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री बनेका पोख्रेल यो निर्वाचनबाट सहजै उपल्लो सदन प्रतिनिधिसभामा फड्को मार्न चाहन्थे। भावी प्रधानमन्त्री र एमालेको अध्यक्ष बन्ने ‘ललीपप’ देखाएर यो क्षेत्रको बहुमतलाई आफ्नो पक्षमा पार्न सकिनेमा दृढ देखिएका पोख्रेलले जनस्तर सम्म पुग्न चुके। जिल्लाको एक मात्रै हेभिवेट नेताका रुपमा गरिएको प्रचारले आफूलाई ‘नायक’ बनाउने शंकरको बिश्वास माथि माओवादी केन्द्रकी रेखा तगारो बनेर उभिईन्।

त्यसोत, शंकरले सम्भावित प्रतिष्पर्धी माओवादीका कृष्णबहादुर महरालाई पञ्छाए मात्रै आफ्नो जीत सहज देखिरहेका थिए। महरा आफूसंग भिड्ने परिस्थतीमा मात्रै अवस्था जटिल बन्न सक्ने खतरा देखेका पोख्रेलले महरा बाहेक अन्यलाई आफ्ना कडा प्रतिष्पर्धी मानेनन्। तर महरा चुनावी दौडबाट बाहिरिएपछि उम्मेवार बनेकी माओवादीकी रेखालाई उनले बलियो प्रतिष्पर्धी मान्ने कुरै भएन। फलतः आफ्ना सामु कमजोर प्रस्तुत भएको महशुस गरेका शंकरले रेखालाई सहजै पाखा लगाउन सक्नेमा ढुक्क बने।

रेखाले आफूलाई हेभिवेट प्रचार बिरुद्ध प्रतिवाद गराईनन्। तर महराले भने रेखालाई हेभिवेट नेताकै रुपमा चिनाईरहेका थिए। ‘रेखा शर्मा कसरी लो वेटको नेता हो?’ महराले  भनेका थिए ‘उहाँ पनि हेभिवेट नेता हो, तर प्रचार हेभिवेट र लो वेटका रुपमा हैन, चुनाव एजेण्डाको बलमा जित्ने हो।’ नभन्दै महराले भनेजस्तै यो निर्वाचन क्षेत्रमा हेभिवेट प्रचारले हार खाएको छ भने एजेण्डाले जितेको छ।

अनि जनमत तान्न सकिने बलियो अस्त्र भनेकै आफ्नो हेभिवेट ओजलाई मात्रै देखे। काउन्टरमा मैदानमा उत्रिएकी रेखाले आफू माथि लगाईएको लोवेटको ट्यागलाई सहर्ष स्वीकारिन्। अनि हेभिवेट बन्न जनस्तर सम्मको सम्पर्कलाई बढावा दिईन्। फलतः रेखाको सम्पर्क जनस्तर सम्म बढ्दै गयो। अनि यहि सम्वन्धले लोवेट रेखालाई हेभिवेट संगको प्रतिष्पर्धामा रहेर जीत निकाल्ने शक्ति पैदा गरिदियो।

‘मतदाताहरुले राजनीति वा राजनीतिक दलका नेताहरुबाट चुनावमा अझ बढि अपेक्षा राखेका हुन्छन्, आफ्ना गुनासाहरु सुनाउन चाहेका हुन्छन्,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन् ‘फलतः चुनावमा हरेक मतदाताहरुले नेता तथा उम्मेदवार संग भेट्न, गुनासा सुनाउन चाहेका हुन्छन्, यो बेलामा नेता तथा उम्मेदवारहरु उनीहरुको घरदैलोमा पुगे त्यसको धेरै सकारात्मक प्रभाव पर्छ।’

त्यसोत, पोख्रेलले पुराना सहकर्मी भएकै कारण पनि रेखाको शक्तिलाई कमजोर आँकलन गर्ने भेउ सम्म पाएको हुनु पर्छ। अघिल्लो निर्वाचनमा तालमेल गरेर चुनाव मैदानमा होमिएका शंकर र रेखाका बीच राजनीतिक सहकार्य गर्ने वातावरण बन्यो। अझ चुनाव पछि त एकै दलमा समाहित पछि पोख्रेल रेखा भन्दा ‘सिनियर नेता’ बने। यसको प्रमुख कारण तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंगको उनको सामिप्यता थियो नै। फलतः एउटै दलमा रहेर उपल्लो तहबाट रेखालाई तल्लो तहमा राखेर हेरेका पोख्रेलले रेखाको चुनावी शक्तिलाई पनि कमजोर आँकेकै हुनुपर्छ।

तर पोख्रेलले आफू बिरुद्ध रेखा एकल रुपमा भिडेको मात्रै नभई आफू बिरुद्ध चार दलको शक्ति जुधेको बलियो चुनौतीलाई हल्का रुपमा लिए। मूलतः माओवादीलाई कांग्रेसी मत नजाने भन्दै कांग्रेको मतलाई सहजै आफ्नो पक्षमा पार्न सकिनेमा उनी ढुक्क थिए। ‘कांग्रेसी जनमत हाम्रो पक्षमा आउँछ भन्ने नै लागेको थिया,’ एक एमाले नेताले भने ‘तर त्यसो भएन, नतिजा अपेक्षाकृत भएन।’ तर एमालेको कार्यदिशा तयार पार्ने एमाले भित्रका नायकलाई जसरी पनि परास्त गर्ने गठबन्धनको बोल्ड निर्णयले शंकरलाई जिल्लाको एकल हेभिवेट नेता बन्ने ठूलो सम्भावनालाई चकनाचुर पारिदियो।

को हुन् रेखा ?  

दाङ घोराही रझेनामा २०२६ असोज ९ गते बाबु गिरीराज शर्मा र आमा स्व.पार्वति पौडेलको कोखबाट जन्मीएकी रेखाले २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीतिक जीवन शुरुवात गरेकी थिइन्। दाङ स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईका क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन्। त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन्।

२०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी अनेमसंघको केन्द्रीय सदस्य बनिन्। त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन्। माओवादी राजनीतिक यात्राका क्रममा उनको बिवाह २०५१ मा प्यूठानका कृष्णध्वज खड्कासंग भयो। खड्का अहिले लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन्। माओवादी राजनीतिक यात्राका क्रममा शर्मा र खड्का एकअर्का संग त्यति घुलमिल भने थिएनन्। उनिहरु बिच राजनीतिक साईनो मात्रै थियो। अपरिचित उनिहरु मध्य खड्काको रोजाईमा रेखा परिसकेकी थिईन्। खड्काले नै शर्मासंग बिवाह गर्ने प्रस्ताव पार्टी समक्ष राखे।

पार्टीले रेखा अनि उनको परिवारसंग बिवाहका लागि प्रस्ताव गर्यो। शर्मा अनि उनको परिवारले विवाहको सहमती दिए। खड्का अनेरास्ववियुका केन्द्रयि अध्यक्ष बनेका कारण उनि काठमाडौँमै बस्थे, अनि अनेमसंघको केन्द्रीय सदस्य बनेकी रेखा पनि श्रीमानसंगै काठमाडौँमा बस्न थालिन्।

त्यसैबेला जनयुद्ध सुरु भयो। उनिहरु दुबै जना अर्धभुमिगत बने। उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष बनेकी रेखाले आफ्नो नेतृत्वमा सिंहदरबार भित्रै २०५५ मा गरेको आन्दोलनलाई उनले ठूलो उपलब्धी मान्छिन्। पैत्रिक सम्पत्ति माथि महिलाहरुको समेत समान अधिकार हुनुपर्छ भन्दै शर्माको नेतृत्वमा महिलाहरुको समूह त्यो बेला छापामार शैलीमा सिंहदरबार प्रवेश गरेर नाराबाजी गरेको थियो। २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख बनिन्।

२०५८ मा मुलुकमा संकटकाल लागु भएपछि रेखाको परिवारमा संकट आईलाग्यो। माओवादी सहित उसका जनवर्गीय संगठन समेतका नेताहरुलाई समेत नियन्त्रणमा लिने राज्यको पहिलो निशानामा रेखा अनि उनका श्रीमान कृष्णध्वज परे। उनिहरु ०५८ चैतमा काठमाडौँ चाबहिल स्थित आफ्नै डेराबाट पक्राउ परे। तत्कालीन सेनाको नियन्त्रणमा लिएपछि रेखाले नर्ककै अवस्था भोग्नु पर्यो।

नियन्त्रणमा आएको एक बर्ष पछि ०५९ चैतमा उनिहरु मुक्त भए। रेखाका अनुसार तत्कालीन राज्य पक्ष र माओवादी पक्षबिच २०५८ माघमा वार्ताको वातावरण बन्दै थियो। वार्ताका लागि माओवादीले रेखा र उनका श्रीमान कृष्णध्वजको रिहाईलाई प्रमुख सर्त बनाएको थियो। ‘त्यसपछि हामीहरुलाई लगाईदिएको मुकुण्डो पनि हटाईयो,’ रेखाले भनिन् ‘हामीहरु माथि यातना पनि रोकिँदै गयो, अनि ०५९ चैतमा हामीहरु रिहाई भयौँ।’

रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन्। युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए। उनी अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा छिन्। २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन्। उनि त्यो बेला माओवादीको प्रमुख सचेतक समेत बनेकी थिईन्। त्यसैबेला उनि सामान्य प्रशासन मन्त्री समेत बनिन्। तेस्रोआँखा डटकमबाट

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्