२०७९ साउन २६ गते बिहिवार

अस्पतालमा सुत्केरी सेवा लिनेको संख्या घट्यो



१९ साउन, दाङ – 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सुत्केरी सेवा लिनेको संख्यामा कमि आएको छ । आर्थिक बर्ष २०७७/०७८ को साउन महिना देखि असार महिनासम्म अस्पतालमा आएर ३९ सय २५ जनाले सुत्केरी सेवा लिएका थिए । त्यसैगरी भर्खरै सम्पन्न भएको आर्थिक बर्ष २०७८/७९ को साउन देखि असार महिनासम्म २९ सय २७ जनाले सुत्केरी सेवा लिएका छन् । अघिल्लो बर्षलाई तुलना गर्दा यो बर्ष सुत्केरी सेवा लिनेको संख्या ९ सय ९८ जनाले घटेको छ ।

त्यसैगरी अस्पतालमा पुगेर गर्भ जाँच गराउनेको संख्या पनि घटेको छ । आर्थिक बर्ष २०७७/७८ मा २७ सय ९९ जनाले चारपटक गर्भ जाँच गराएका थिए भने भर्खरै सम्पन्न आर्थिक बर्षको साउन महिनासम्म २१ सय ८८ जनाले गर्भ जाँच गराएको सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभयो । सरकारले अस्पतालमा आएर सुत्केरी सेवा लिएमा यातायात बापत एक हजार र नियमित रुपमा चारपटक गर्भजाँच गराएमा ८ सय रुपैयाँ प्रोत्सान स्वरुपमा भत्ता दिने गरेको छ ।

सबै मापदण्ड पुरा गरेमा एकजना सुत्केरीले डिस्चार्ज भएर जाँदा एक हजार आठ सय रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको अस्पतालले जनाएको छ । यद्यपी बितेको बर्षमा गर्भ जाँच गराएका २८ सय ४९ जना मध्य २७ सय ९९ जनाले भत्ता पाएका छन् भने २९ सय २७ जना सुत्केरी मध्य २८ सय २९ जनाले मात्र भत्ता पाएका छन् ।

यता राप्ती प्रादेशिक अस्पतालका प्रमुख डा. बिनो सिंहले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरी सेवा सुचारु भएपछि घटेको बताउनुभयो । कोभिडको समयमा सुत्केरी सेवा बन्द भएका कारण घोराही क्षेत्रबाट पनि प्रादेशिकमा आउने गरेका कारण सुत्केरीको संख्यामा वृद्धि भएको र अहिले सेवा सुचारु भएपछि घटेको डा। सिंहले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्