२०७९ साउन २६ गते बिहिवार

तुलसीपुरको स्मार्ट छोरी कार्यक्रममा हालसम्म ५ ८ छोरीहरु समावेश



२० साउन, दाङ – 
तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको स्मार्ट छोरी कार्यक्रममा हालसम्म ५ सय ७८ जना छोरीहरु समावेश भएका छन् । २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरु यो कार्यक्रममा समावेश हुने गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा १३४ जना छोरीहरु समावेश भएका थिए भने आर्थिक बर्ष २०७८/०७९ मा ४४४ जना सहभागी भएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । २०७७/०७८ भन्दा २०७८/०७९ मा यो कार्यक्रममा समावेश हुने छोरीहरुको संख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जन्मेको १ महिनामा १२ सय र पछि मासिक १ सयका दरले खातामा रकम जम्मा गरिदिएको थियो भने २०७८/०७९ मा मासिक २ सय बनाएर बार्षिक २४ सयका दरले उपमहानगरपालिकाले २०७७ पछि जन्मेका छोरीहरुको खातामा रकम जम्मा गर्ने गरेको छ ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्य रुपमा जन्मदर्ता गराएको हुनुपर्ने र बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

बालविवाह न्यूनिकरण गर्न र छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेपछि यो कार्यक्रम लागु भएको हो ।।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्