२०७९ साउन २६ गते बिहिवार

मतदाता नामावली सङ्कलन आजबाट स्थगित



२० साउन, दाङ –
मतदाता नामावली सङ्कलन आजदेखि स्थगित भएको छ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गरे लगतै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताएको हो ।

साथै अनलाइन आवेदन दिएकाहरूले भोलि सम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ । आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले आवश्यकता अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्