२० साउन, दाङ –
मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ । अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्ने हुँदा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै रहेको उहाँको भनाई छ ।
मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । अहिले गण्डकी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।।