२०७९ साउन २६ गते बिहिवार

सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श



१० साउन,काठमाडौं – अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारे नेपाल प्रहरीबाट प्राप्त फरेन्सिक रिपोर्टबारे संसदीय छानबिन समितिले विज्ञसँग परामर्श गर्ने भएको छ ।मंगलबार बिहान सिंहदरबारमा बसेको समिति बैठकमा प्राप्त फरेन्सिक रिपोर्टको सिल खोलिएको थियो । त्यसको अध्ययनपश्चात समितिले यसबारे विज्ञसँग परामर्श गर्ने निर्णय गरेको हो ।

प्रहरीले बुझाएको रिपोर्ट प्राप्त भए पनि समितिले त्यसमा जेठ १४ गते मध्यरातिको सिसिटिभी फुटेज भेटिएको छ कि छैन भन्नेबारे केही बताएको छैन । समिति सचिव सुरेन्द्र अर्यालले यसबारे विज्ञसँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए । रिपोर्टमा के छ भन्नेबारे अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

चालु आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । शर्माले सुरुदेखि नै आरोप अस्वीकार गर्दै आए पनि चौतर्फी दबाब थेग्न नसकेर राजीनामा दिइसकेका छन् । उनको राजीनामापछि संसदीय छानबिन समिति गठन भएको छ ।

सुरुमा दिइएको १० दिनको समयले नपुगेर थप सात दिन प्राप्त गरेको समितिले अर्थसँग सिसिटिभी फुटेज मागेकोमा प्राप्त नभएपछि त्यसको हार्डडिस्क नै फरेन्सिक ल्याबमा पठाएको थियो । प्राप्त रिपोर्टबारे मंगलबार बिहान छलफल गरेको समितिले आजै अपराह्न ४ बजे बैठक बोलाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्