२०७९ साउन २६ गते बिहिवार

दाङका मौरीपालक किसान मह नबिकेपछि निराश



९ साउन,घोराही – दाङका मौरीपालक किसान आफूले उत्पादन गरेको मह नबिकेपछि निराश भएका छन् । स्थानीय बजारको माग भन्दा बढी उत्पादन भएपछि किसानहरू घर मै मह भण्डारण गरी बजार खोज्न थालेका छन् । यो पटक महको उत्पादन राम्रो भएको बेलामा पनि महले बजार नपाएपछि आफुहरु निराश भएको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का किसान रेशमबहादुर राणाले बताउनुभयो । करीव १ सय ५० घार मौरीपाल्दै आउनुभएका रेशमबहादुरले जस्तै जिल्लामा सयौँ किसानले उत्पादन गरेको मह घरमै थन्किएको छ ।

अन्यत्रभन्दा दाङको महको गुणस्तर निकै राम्रो रहेपनि खपत हुन नसक्दा घरमै मह राख्नु पर्ने अवस्था आएको बंगलाचुली ४ का किसान मोहन खत्रीले बताउनुभयो । व्यावसायिक रुपमा मौरीपालनगर्दै आएका किसानले सेरेना र मेलीफेरा जातका माहुरी पालन गर्दै आएका छन् । जिल्लामा हाल ५ सय भन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, जिल्लामा हाल १ सय ५० टन मह बिक्रि नभएर किसानसँग रहेको छ । विगत वर्षहरुमा भन्दा यो पटक राम्रो उत्पादन भएको मह बजारमा बिक्रि नहुँदा खर्च लागत पनि उठाउन समस्या भएको किसानहरुको गुनासो छ । अम्बिकेश्वरी मौरीपालक कृषि सहकारी संस्थाका अध्यक्ष मिनराज घिमिरेले आर्थिक मन्दीका कारण मह खपतमा पनि यसको असर परेको हुन सक्ने बताउनुभयो ।

दाङको मह पोखरा, काठमाडौँलगायतका शहरहरुमा बिक्रि हुने गरेकोमा यो पटक अपेक्षित खपत भएको छैन । यस्तै, भारतीय बजारबाट आउने विभिन्न नामका सस्तो मुल्यका महका कारण पनि उपभोक्ताले स्थानीय मह खरीदमा खासै चासो नदिएको कतिपय मह उत्पादकहरुको भनाई छ । महको बजारीकरणमा समस्या हुन थालेपछि यहाँका किसान संगठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्रि गर्ने तयारीमा जुटेका छन् । जसका लागि सबै मह उत्पादक किसानलाई अब सहकारी संस्थामा आवद्ध गराउँदै एकीकृत रुपमा मह बिक्रि गर्ने तयारी गरेका हुन् ।

उता, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्तीले मौरीपालक कृषकहरुलाई मौरीको नश्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएपनि बजारीकरणको काम कृषक आफैले गर्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्