२०७९ साउन २६ गते बिहिवार

खाद्यान्न किन्दा एकै वर्ष ७४ अर्ब रुपैयाँ बाहिरियो



९ साउन, दाङ- गएको आर्थिक वर्षमा नेपालले ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । सरकारले कृषिजन्य वस्तुको आयात रोक्ने भन्दै हरेक वर्ष विभिन्न कार्यक्रम चलाएको छ र एकै आर्थिक वर्षमा ७४ अर्ब २८ करोड रुपैयाँको खाद्यान्न भित्रिएको भन्सार विभागले जनाएको छ ।

भारत, चीन, अमेरिका, जापान, इन्डोनेसिया, ब्राजिल, अर्जेन्टिना लगायका दर्जनौँ देशबाट धान–चामल, मकै, गहुँ, कोदो लगायतका खाद्यान्न भित्रिएको छ । झन्डै ४७ अर्ब रुपैयाँको धान–चामल नेपालले भारत, इन्डोनेसिया, जापान, कोरिया लगायतका देशबाट किनेको छ ।

नेपालकै पाखा–पखेरामा कम मेहनतमै फल्ने कोदो पनि आयात भएको छ । नेपालले चीनबाट ६७ हजार रुपैयाँको आठ सय ५० किलो र भारतबाट तीन करोड ९८ लाख रुपैयाँको एक लाख १९ हजार किलो कादो आयात गरेको छ ।

गएको आर्थिक वर्षमा एक खर्ब २० अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु, ३६ अर्ब ५४ करोड रुपैयाँको तरकारी, २४ अर्ब ९९ करोड रुपैयाँको फलफूल, नौ अर्ब रुपैयाँको चिया–कफी, सात अर्ब ४१ करोड रुपैयाँको चिनी र चिनीजन्य वस्तु र खाद्यान्न उद्योगलाई चाहिने कच्चा पदार्थ २९ अर्ब रुपैयाँको आयात भएको छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्