२०७९ जेष्ठ ८ गते आइतवार

निर्वाचन आयोगको रणनीति: ६ दिनभित्र मतगणना सकाउने



२७ वैशाख, घोराही – निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो ।

२०७४ साल वैशाख ३१गते पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ ।

त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । निर्वाचन आयोगले उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउन खोजेको हो ।

देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । निर्वाचन आयोगले ६ दिनभित्र ती स्थानीय तहको मतगणना सकाउनुलाई प्रमुख चुनौती मान्दै त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । छिटो मतगणना गर्न सकेसम्म एकभन्दा बढी स्थानमा गणनाको व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्