२१ वैशाख,दाङ-
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले हराउन नसक्ने बताएका छन् । गठबन्धनले एमालेलाई हराउँछ भनेर कसैले नसोचे हुने उनको भनाइ छ ।
मंगलबार गृहजिल्ला झापाको हल्दिबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले जति गठबन्धन बनाए पनि एमालेलाई हराउन नसक्ने बताए । ‘एमालेविरुद्ध बनाएको गठबन्धनले एमालेलाई हराउँछु भन्ने सोच नबनाए हुन्छ । दुई दल होस् या पाँच दल, एमालेले कर्याककुरुक बनाउँछ,’ ओलीले भने, ‘यसरी फाल्नुजतिको आनन्द केही पनि हुँदैन ।’
उनले पाँचदलीय गठबन्धनसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले इच्छुक रहेको जिकिर गरे । उनले अहिलेको राजनीति एमाले एकातिर र अरू दल अर्कोतिर भएको भन्दै एमाले शक्तिशाली भएको टिप्पणी गरे । ‘स्थानीय गठबन्धन टुटोस् भन्ने हामी चाहँदैनौँ । गठबन्धन भइरहोस्,’ उनले भने, एकातिर एक्लै एमाले छ, अर्कोतिर दलैदलको गठबन्धन छ । तैपनि, जित एमालेको हुन्छ । त्यसपछि देश पनि बन्छ,’ ओलीले भने ।
स्थानीय तहको निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी थियो । उनले स्थानीय तहसहित आउँदा प्रदेश र संघको निर्वाचनसमेत एमालेले जित्ने र तीनै तहमा एमालेको सरकार हुने जिकिर गरे । आउँदो निर्वाचनमा झापा एमालेको ‘लालकिल्ला’ साबित हुने उनको भनाइ थियो ।