२०७९ जेष्ठ ८ गते आइतवार

तराई भन्दा पहाडमा अहिले औलोको जोखिम बढ्दै



१४ वैशाख, घोराही- तराई भन्दा पहाडमा अहिले औलोको जोखिम बढ्दै गएको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले बताउनुभएको छ । बढ्दो बसाई सराई, जलवायु परिवर्तन, बढी जनसंख्या औलोको मुख्य कारण रहेको बताउँदै उहाँले व्यक्तिबाट व्यक्ति र आयातित औलोका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले औलो नियन्त्रणका लागि सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई स्वास्थ्यका क्षेत्रमा प्रभावकारी भुमिका खेल्न आग्रह पनि गर्नुभयो ।

पछिल्लो तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १ सय २३ जनामा औलो देखा परेको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा प्रदेशका १ सय २३ जना मध्ये सबैभन्दा धेरै बाँकेमा ७८ जनामा औलो देखा परेको बताउनुभयो ।
यता, दाङमा पनि औलो परिक्षण गराएका १ हजार ७ सय ३३ जनामध्ये ५ पुरुष र १ महिला गरी ६ जनामा औलो पुष्टि भएको कार्यालय फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख विनोदकुमार गिरीले औलोको प्रसार तराईभन्दा पहाडमा बढेको हुँदा यसको प्रचार प्रसार र सचेतना बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सबै खाले रोग निवारणको काम भईरहेकाले यसको प्रभाव सकारात्मक परेको बताउनुभयो । उहाँका अनुसार अहिले पनि प्रदेशका भैरहवा, कृष्णनगर र बाँकेमा कोरोना, मलेरिया र हात्ती पाईले विरुद्धको जाँच भईरहेको छ ।

बेलैमा उपचार गर्न र समस्या समाधानका लागि परिक्षणको दायरा बढाइएको बताउनुभयो । यस्तै स्थानीय तह निर्वाचनपछि व्यापक रुपमा परिक्षण गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

औलो नियन्त्रण गर्न परिक्षणको दायरा बढाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको उहाँको भनाई थियो ।नेपाल सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिए पनि नियन्त्रणमा गर्न चुनौति रहेको छ । हिजोमात्रै दाङसहित देशैभर औलो रोग विरुद्धको दिवस मनाइएको थियो ।।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्