२०७९ जेष्ठ ८ गते आइतवार

दाङको जनसंख्या १८ प्रतिशतले बढ्यो



१३ माघ.घोराही –
बितेको १० वर्षमा दाङको जनसंख्या करीव १८ प्रतिशतले बढेको छ । जिल्ला तथ्यांक कार्यालय दाङका अनुसार २०६८ को जनसंख्याको तुलनामा यो पटक १८ दशमलव २९ प्रतिशतले बढेको हो ।

तथ्यांक कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले दिनुभएको जानकारी अनुसार दाङमा २०७८ को जनगणना ६ लाख ७६ हजार २ सय ७७ रहेको छ । २०६८ को जनगणना गर्दा दाङमा ५ लाख ५२ हजार ५ सय ८३ रहेको थियो ।

बितेको दश वर्षमा जिल्लामा १ लाख २३ हजार ६ सय ९४ जना थपिएका छन् । भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा करीव सवा लाख जनसंख्या बढेको देखाएको छ ।

देशभर जस्तै जिल्लामा पनि पुरुषभन्दा महिलाको संख्या धेरै रहेको उहाँले बताउनुभयो । दाङमा ५२ दशमलव ४० प्रतिशत अर्थात ३ लाख ५४ हजार ३ सय ७६ महिला जनसंख्या रहेको छ भने ४७ दशमलव ५९ प्रतिशत अर्थात ३ लाख २१ हजार ९ सय १ पुरुषको जनसंख्या रहेको तथ्यांक अधिकृत पोख्रेलले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्