२०७९ जेष्ठ ८ गते आइतवार

नारायणपुरमा सार्वजनिक शौचालय निर्माण



 

३ माघ, घोराही  – घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शौचालयको निर्माण गरेको हो । नारायणपुरको सर्वेश्वरी मन्दिर नजिकै निर्माण गरिएको शौचालयको आज घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) ले शौचालयको उद्घाटन गर्नुभएको छ ।

नेपाल सरकार र विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई कोष विकास समितिको व्यवस्थापनमा २२ लाखको लगानीमा शौचालयको निर्माण गरिएको हो । शौचालयको गणपति बाबा निर्माण सेवा प्रालिले निर्माण गरेको हो । महिला, पुरुष र अपांगमैत्री छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ ।

नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे श्रवणको अध्यक्षता एवं घोराही १० का वडा अध्यक्ष चित्रबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सल्लाहकार कमल वली, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, लायन्स क्लब नारायणपुरका कोषाध्यक्ष बिनोद केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष रेशम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा गोरक्ष बैदिक गुरुकुलका बटुकहरु लक्कीप्रसाद उप्रेति र दपैण घिमीरेले स्वस्ती वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव अशोक शर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्