२०७८ माघ ९ गते आइतवार

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित



२४ पुस, घोराही- नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको १३ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा बस्नेतसहित १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ । गएराति अबेर सम्पन्न जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी ३ वर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको नेकपा एमाले दाङले जनाएको छ ।

जसको उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित हुनुभएको छ । यस्तै, पालिकास्तरबाट १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ जना सदस्य पदमा नेतृत्व चयन गरिएको छ ।

यस्तै, समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्य तर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी अधिवेशनले पदाधिकारी चयन गरेको हो । यसैबीच, नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ । प्रमुख निर्वाचन अधिृकत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्