२०७८ मङ्सिर १५ गते बुधवार

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित



१ भदौ, घोराही –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत मंगलबार शुरु भएको पहिलो बैठक केही बेर शुरू भएर स्थगित भएको छ।

एमालेको सूर्य चिन्ह लिएर निर्वाचित आफ्ना दुई जना सांसदहरू अजय शाही र विमला खत्री ओलीलाई पार्टीले कारबाही गरिसकेको र उक्त पत्र प्रदेशसभा सचिवालयमा बुझाईसकेकोले उनीहरूलाई कारवाही नगर्दासम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेपछि मंगलबारको बैठक ५ मिनेट मात्रै बसेर स्थगित भएको हो।

बैठकको शुरूमै सभामुख पूर्ण बहादुर घर्तिले बैठकका कार्यसूची पढेर सुनाउँदै गर्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले एमालेका दुई जना सांसदलाई पार्टीले कारबाही गरेको र उनीहरूलाई सांसदबाट पदमुक्त गर्न निवेदन दर्ता गरिसकेकोले उक्त प्रकृया अगाडि नबढाउँदासम्म संसद चल्न नदिने जानकारी गराउनुुभएको थियो ।

त्यसलगत्तै विपक्षी दल एमालेका सांसदहरू उठेर टेबुल ठोकिरहँदा सभामुख घर्तिले प्रदेश प्रमुख अमिक शेरचनले पठाएका नवौं अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठन सम्बन्धि पत्र पढेर सुनाउनुुभएको थियो ।

यसअघि मुख्यमन्त्री कुलप्रसाद केसीको विशेष सम्बोधन तथा दुई वटा विधेयक पेश हुने कार्यसूची रहे पनि एमालेको विरोधका कारण बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरिएको सभामुख घर्तिले जानकारी गराउनुुभयो।

यसअघि दिउँसो १ बजे बैठक बस्ने पूर्व निर्धारित समय भए पनि झण्डै पौने दुई घण्टा ढिलो गरि दिउँसो २ बजेर ४० मिनेटमा मात्र बैठक शुरु भएको थियो।।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्