२०७८ माघ ३ गते सोमवार

बंगलाचुलीमा सिमेन्ट खानिका टिप्परहरु अब राति मात्र चल्न पाउने समय निर्धारण



कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकामा रहेका तिन वटा सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई अब देखि रातिमा मात्रै चुनढुङ्गा ढुवानी गर्न दिने भएकोछ । बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को कार्यालयले श्रावण ३२ गते देखि लागु हुनेगरी बेलुका ७ बजेदेखि विहान ६ बजे सम्म मात्रै सिमेन्ट खानिका चुनढुङ्गा ढुवानी गर्न दिने गरी सरोकारवाला सबैलाई पत्राचार गरेको छ ।

टिप्परहरुले नागरिकलाई सास्ति दिएको भन्दै टिप्पर संचालनका लागि रातिको समय तोकिएको वडा कार्यालय द्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । वडा नंम्वर चारका अध्यक्ष नारायण डाँगी द्वारा हस्ताक्षरीत पत्रमा दैनिक सयौँका संख्यामा चल्ने टिप्परहरुले नागरिकलाई  सास्ति दिएको भन्दै टिप्पर संचालनका लागि रातिको समय तोकीएको उल्लेख छ ।

सिमेन्ट खानिका टिप्परहरु दिनमा अव्यवस्थितरुपमा संचालन हुँदा घोराही मुर्कुटी तापा सडक खण्डमा यात्रा गर्ने यात्रुहरुलाई निकै सास्ती हुने गरेको भन्दै यस क्षेत्रका नागरिकहरुले गाउँपालिकामा निवेदन दिएको र सोको अवस्था अध्ययन गर्दा नागरिकले सास्ति व्यहोरेको हुँदा टिप्पर संचालनका लागि रातिको समय तोकिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
यस गाउँपालिकामा घोराहीको गोग्लिमा रहेको सगरमाथा सिमेन्ट,लमहीको सतवरीयामा रहेको सम्राट र शुमश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्न दैनिक सयौँका संख्यामा टिप्परहरु चल्ने गरेका छन् । सिमेन्ट खानिका सयौँ टिप्परहरुका कारण भर्खरै कालोपत्रे गरेको सडक तहस नहस भएको छ । भने टिप्परहरले सडक छेउँछाउँमा लगातार दैनिक दुर्घटना गराउने गरेको स्थानियको गुनासो छ ।

यस सडक खण्डमा चल्ने टिप्परहरुले स्थानियको गाई,गोरु,कुखुरा,बाख्रा,भैसीँलाई ठक्कर दिएर घाईते बताउनुका साथै पशुचौपायाको ज्यानै लिने गरेको नागरिकहरुको गुनासो छ । भने सडकमा चल्ने टिप्परहरले पैदन यात्री,साना गाडिमा सवार नागरिकलाई पनि ठक्कर दिन खोज्ने र कतिपयलाई घईते समेत बनाएको स्थानिय तुलसीराम रावतले जानकारी दिनुभयो । स्थानिय तुलसिराम रावतका अनुसार अहिले ५ दिन देखि लगातार स्थानियको पशुचौपाया,घरपालुवा जनावरहरुलाई टिप्परले ठक्कर दिने मार्ने गरेका छन् ।

स्थानियले गाउँपालिकालाई दिएको निवेदन

टिप्परले घनश्याम महराको गोरु र राँगा घाईते ,लाल बहादुर गिरीको कुकुरलाई च्यापेर मारेको,तेज प्रसाद भुसालको बोका मारेको,सर्वजित राईको गाई घाईते पारेको,शंकर सुनार ,डोम बहादुर महरा र नारायण भण्डारीको कुखुरा मारेको तुलसीराम रावते जानकारी दिनुभयो ।

सिमेन्ट उद्योगका टिप्परहरुले पैदल यात्रीलाई हिलो छ्याप्ने,ओभर स्पिड चलाउने,खँलासीले टिप्परहरु चलाउने ,लाईसेन्स विनै मदिरा तथा नसालु पदार्थ खाएर टिप्परहरु चलाउने  गरेको स्थानिय छवीलाल डाँगीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्