२०७८ माघ १३ गते बिहिवार

भारतीय एसएसबीले तुइन काटेकै कारण धामी बेपत्ता भएको निष्कर्ष



२७ साउन, घोराही –
मानवअधिकारको क्षेत्रमा क्रियाशील जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बलका जवानले तुइन फुस्काइदिएकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

दार्चुलामा पुगेर स्थलगत अध्ययन गरेको समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।संस्थाले अधिवक्ता सन्तोष कोइराला र अधिकारकर्मी ललित विकलाई स्थलगत अध्ययनका लागि पठाएको थियो ।

पीडितका परिवार, आफन्त, प्रत्यक्षदर्शी, सरोकारवालासँग भेट गरी प्रतिवेदन बनाइएको अधिवक्ता कोइरालाले बताउनुभयो ।सरकारलाई दबाब दिने उद्देश्यले आफूहरुले छुट्टै छानबिन समिति गठन गरी घटनास्थल पठाएको संस्थाका अध्यक्ष एकराज भण्डारीले बताउनुभयो ।

प्रतिवेदनमा मान्छे तुइन तर्दै गरेको देख्दादेख्दै एसएसबीका जवानले फुस्काइदिएर अक्षम्य र मावताविरोधी अपराध गरेको उल्लेख छ ।समितिले बेपत्ता धामीको अवस्था पत्ता लगाएर तत्काल परिवारको जिम्मा लगाउन र कूटनीतिक पहल गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्